कार्यालय प्रमुख बाट सन्देस

कार्यालय प्रमुख बाट सन्देस

नेपाल जैविक विविधतामा धनी देशको रुपमा विश्वमा परिचित भई लामो समयदेखि नै जैविक विविधता संरक्षणमा योगदान दिँदै आएको छ । जैविक विविधता संरक्षणमा चुनौतीहरु थपिँदै गईरहेको अवस्थामा नेपाल सरकारले स्व-स्थानीय मात्रै नभई पर-स्थानीय संरक्षणको नीति समेत लिएको छ । खासगरी स्व-स्थानीय संरक्षणको लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्रहरुको स्थापना र व्यवस्थापन गर्दै यसको क्षेत्र विस्तार गरी मुलुकका अमुल्य प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने कार्यका लागि नेपाल सरकारबाट अनवरत रुपमा समयानुकूल प्रयासहरु हुँदै आएको छ । यसका अतिरिक्त नेपाल सरकारले संकटमा परेका वन्यजन्तुको संरक्षण र व्यवस्थापन गर्न नेपाल सरकारले पछिल्लो प्रयास स्वरुप पर-स्थानीय संरक्षणका कार्यहरुलाई पनि दिगो रुपमा अगाडी सारेको छ । यसै सिलसिलामा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७३/१०/२० को निर्णयानुसार मिति २०७४/०१/१८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तनहुँ जिल्ला स्थित व्यास नगरपालिकाको वडा नं. ११ र १२ तथा भानु नगरपालिकाको वडा नं. ५ र ६ मा रहेका ८ वटा सामुदायिक वनको आंशिक क्षेत्र, ५ वटा कबुलियती वन, निजी आवादी, खोलानाला, ऐलानी पर्ति र सरकारद्वारा व्यवस्थित वनको भागलाई समेटी कुल ४२५ हेक्टर क्षेत्रफलको चारकिल्ला तोकी भानुभक्त प्राणी उद्यानको घोषणा भई संरक्षण र व्यवस्थापनको कार्य हुँदै आएको छ ।वार्षिक कार्यक्रम सम्पन्न गर्न तथा निजी घरजग्गा अधिग्रहण र मुआब्जा वितरणको सम्बन्धमा प्रत्यक्ष/परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण स्थानिय वासिन्दाहरु, संस्थाहरु, निर्माण व्यवसायीहरु, राजनीतिक दलहरु, कर्मचारीहरु, सामुदायिक वन र कबुलियती वनका पदाधिकारी एवंम सम्पूर्ण उपभोक्ताहरु प्रति हार्दिक आभार प्रकट गर्दछु। साथै आगामी दिनहरुमा पनि यस प्राणी उद्यानको उद्देश्य प्राप्तीका लागि सम्बन्धीत सम्पूर्ण सरोकारवालाहरुबाट निरन्तर सहयोगको अपेक्षा गर्दछु।

धन्यवाद !

विनय कुमार मिश्र

संरक्षण अधिकृत