पृष्ठभूमि

पृष्ठभूमि:

वन क्षेत्रको खण्डीकरण, क्षयीकरण र विनाश, अत्यधिक दोहन, डढेलो, अतिक्रमण, वातावरणीय प्रदूषण तथा जलवायु परिवर्तनका नकारात्मक असर जस्ता जोखिमहरूका कारण कतिपय वन्यजन्तुका प्रजातिहरू लोप भइसकेका छन् भने कतिपय लोप हुने अवस्थामा पुगेका छन्। वन, वनस्पति, वन्यजन्तु र समग्र जैविक विविधताको संरक्षण, संवर्द्धन, सदुपयोग र व्यवस्थापनका लागि नेपाल सरकारले नीतिगत, कानुनी, संरचनागत तथा मानवीय स्रोत एवं साधन व्यवस्थापनका प्रयासहरू गर्दै आएको छ।

विशेषगरी प्राकृतिक बासस्थानमै गरिने संरक्षण (In-situ Conservation) का लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रहरूको स्थापना तथा व्यवस्थापन गर्दै वन्यजन्तु संरक्षणका माध्यमबाट वातावरणीय सन्तुलन कायम गर्न र आर्थिक विकासका निम्ति नेपाल सरकारले फरक-फरक व्यवस्थापकीय पद्धतिहरू अपनाई समयानुकूल रूपमा निरन्तर प्रयास गरिरहेको छ।

यसका साथै, वन र वन्यजन्तु संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्न नेपाल सरकारले जैविक विविधता र यसको महत्त्वबारे प्रचारप्रसार, अध्ययन-अनुसन्धान तथा टुहुरा एवं घाइते वन्यजन्तुको व्यवस्थापन गर्दै आएको छ। त्यस्तै, वंशानुगत विविधता बचाई राख्नका लागि प्राकृतिक बासस्थान बाहिर गरिने संरक्षण (Ex-situ Conservation) को प्रयास स्वरूप चिडियाखाना, प्रजनन केन्द्र र प्राणी उद्यानहरूको स्थापना तथा सञ्चालन गर्ने कार्यहरू हुँदै आएका छन्।