श्री भानुभक्त प्राणी उद्यान कार्यालयको आधिकारीक वेबसाईटमा हार्दिक स्वागत छ ।
नेपाल जैविक विविधतामा धनी देशको रुपमा विश्वमा परिचित भई लामो समयदेखि नै जैविक विविधता संरक्षणमा योगदान दिँदै आएको छ । जैविक विविधता संरक्षणमा चुनौतीहरु थपिँदै गईरहेको अवस्थामा नेपाल सरकारले स्व-स्थानीय मात्रै नभई पर-स्थानीय संरक्षणको नीति समेत लिएको छ । खासगरी स्व-स्थानीय संरक्षणको लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्रहरुको स्थापना र व्यवस्थापन गर्दै यसको क्षेत्र विस्तार गरी मुलुकका अमुल्य प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने कार्यका लागि नेपाल सरकारबाट अनवरत रुपमा समयानुकूल प्रयासहरु हुँदै आएको छ । यसका अतिरिक्त नेपाल सरकारले संकटमा परेका वन्यजन्तुको संरक्षण र व्यवस्थापन गर्न नेपाल सरकारले पछिल्लो प्रयास स्वरुप पर-स्थानीय संरक्षणका कार्यहरुलाई पनि दिगो रुपमा अगाडी सारेको छ । यसै सिलसिलामा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७३/१०/२० को निर्णयानुसार मिति २०७४/०१/१८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तनहुँ जिल्ला स्थित व्यास नगरपालिकाको वडा नं. ११ र १२ तथा भानु नगरपालिकाको वडा नं. ५ र ६ मा रहेका ८ वटा सामुदायिक वनको आंशिक क्षेत्र, ५ वटा कबुलियती वन, निजी आवादी, खोलानाला, ऐलानी पर्ति र सरकारद्वारा व्यवस्थित वनको भागलाई समेटी कुल ४२५ हेक्टर क्षेत्रफलको चारकिल्ला तोकी भानुभक्त प्राणी उद्यानको घोषणा भई संरक्षण र व्यवस्थापनको कार्य हुँदै आएको छ । वार्षिक कार्यक्रम सम्पन्न गर्न तथा निजी घरजग्गा अधिग्रहण र मुआब्जा वितरणको सम्बन्धमा प्रत्यक्ष/परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण स्थानिय वासिन्दाहरु, संस्थाहरु, निर्माण व्यवसायीहरु, राजनीतिक दलहरु, कर्मचारीहरु, सामुदायिक वन र कबुलियती वनका पदाधिकारी एवंम सम्पूर्ण उपभोक्ताहरु प्रति हार्दिक आभार प्रकट गर्दछु। साथै आगामी दिनहरुमा पनि यस प्राणी उद्यानको उद्देश्य प्राप्तीका लागि सम्बन्धीत सम्पूर्ण सरोकारवालाहरुबाट निरन्तर सहयोगको अपेक्षा गर्दछु।
वेबसाईट हेर्नुभएकोमा धन्यवाद !